काठमाण्डौ, 23 सेप्टेम्बर
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
बुधबार प्रवक्ता श्रेष्ठ निवास हरिसिद्धीमा राजदूत क्वात्रा भेटवार्ताका लागि पुग्नु भएको थियो । भेटका क्रममा नेपाल र भारतबीचका विविध पक्षमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै प्रवक्ता श्रेष्ठले राजदूत क्वात्रासँग भारतसँग रहेका सीमा विवादबारे गहन छलफल भएको जानकारी दिनुभयो । उहाँले सीमा समस्या चाँडै वार्ताका माध्यमबाट हल गर्न पनि भारतीय राजदूतलाई आग्रह गर्नुभएको थियो ।
दुई देशका बिचमा रहेका समस्यालाई छिटो वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने आवश्यकताका बारेमा पनि बिचार आदान प्रदान भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।









































