नयाँ दिल्ली, 29 सेप्टेम्बर
कोरोना महामारीका कारण नेपाल भारतको सीमानाकामा अहिले मानिसहरुको आवत-जावतमा कडाई छ । कोरोना महामारीका बेला घरमा छाक टार्न नसकी रोजगारीका लागि भारत आउन खोजेका नेपालीहरु आधार कार्ड लगायतका भारतीय पहिचान पत्र नभएकै कारण सीमाबाट फर्किनु परेको अवस्था छ । तर मानवबेचविखनको अमानवीय काममा लागेका दलालहरुको मानव तस्करी भने रोकिएको छैन । 19 जना बालकहरुलाई एकैसाथ सीमानाका कटाउँदा समेत सीमानाकामा खटिएकाहरुले पत्तो नपाउँदा भारतको गाजियाबाद पुऱ्याइसकेपछि भने मानव बेचविखनविरुद्धको संस्था आफन्त नेपालको सक्रीयताका कारण बचेका छन ।
कोरोना महामारीका कारण कडाई गरिएको सीमाबाट मानव बेचविखनका घटना नथामिएको प्रस्ट भएको छ । आफन्त नेपालको पहलमा दिल्ली महिला आयोग र स्थानीय पुलिसको सहयोगमा सोमबार साँझ दिल्ली नजिक गाजियाबादबाट 19 जना नेपाली बालकहरुको उद्धार गरिएको छ । उद्धार गरिएका बालकहरुको उमेर 13 देखि 16 वर्ष रहेको छ । उनिहरुलाई राम्रो रोजगारी दिलाइदिने प्रलोभनमा भारतका विभिन्न शहरमा बेच्ने योजना दलालहरुको रहेको जनाइएको छ । उनिहरुसँगै 4 जना दलालहरु पनि नियन्त्रणमा आएका छन । दलाल मध्ये एक जना महिला पनि रहेकी छिन ।
आफन्त नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीका अनुसार बालकहरुलाई दिल्ली पुऱ्याउने उद्धेश्यले नवलपरासीको ठूटीबारी सीमा कटाइएको गोप्य सूचना पाइएपछि त्यसैको आधारमा कारवाही गरिएको हो । बसमा गाजियाबाद आइपुगेका उनिहरुले आफन्त नेपाल र महिला आयोगका प्रतिनिधिको साथमा रहेको पुलिसले घेरेको थाहा पाएपछि लगभग 50 किलोमिटरसम्म गाडी दौडाएका थिए । तर उनिहरुको निरन्तर पिछा गरि नियन्त्रणमा लिइएको जोशीले बताउनु भएको छ । उद्धार गरिएका 19 जना सबै नवलपरासी जिल्लाका विभिन्न ठाँउका वासिन्दा हुन । उनिहरुलाई राम्रो कमाइ हुने काममा लगाइदिने प्रलोभनमा स्थानीय दलालहरुले ल्याएको जोशीले बताउनुभयो । उद्धार गरिएका सबै जनालाई अहिले दिल्ली महिला आयोगको आश्रयस्थलमा राखिएको छ ।
भारतको राजधानी दिल्ली मानव तस्करको ट्रान्जिट रुटको रुपमा रहेको छ । भारतका विभिन्न शहर र तेस्रो मुलूक पठाउनका लागि भन्दै दिल्लीको बाटो गरि महिला र बालबालिकालाई ल्याउने गरिएको छ । दिल्लीबाट कयौं पटक ठूलो संख्यामा बेच्न ल्याइका महिलाहरुको उद्धार गरिएको छ भने, बालबालिकाहरुको पनि उद्धार गरिएको छ ।









































