काठमाण्डौ, 1 अक्टूबर 2020
नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ आज (बिहीबार) देखि कार्यान्वयनमा ल्याएको छ। अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोखिममा आधारित सुपरिवेक्षणको म्यानुअल आजदेखि लागू गरिएको पनि बोर्डले स्पस्ट पारेको छ। बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यस अघि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा बोर्डले सुपरिवेक्षण गर्दै आएकोमा आजदेखि अन्तर्राष्ट्रिय स्तरको रुपबाट जोखिममा आधारित सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल बनाएर जारी गरिएको बताउनुभयो। यसबाट जोखिममा आधारित सुपरिवेक्षण कसरी गर्ने भन्ने सम्बन्धमा ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कर्यालय, ग्राहकलाई समेत समेटेर प्यारामिटर तयार गरी सोही आधारमा जोखिम गणना गरिने श्रेष्ठले स्पस्ट पार्नुभयो। जोखिमको गणना गर्दा १ देखि ५ सम्म अंक दिइने गरी म्यानुअल तयार पारिएको उहाँले बताउनुभयो। यस अनुसार जसको सबैभन्दा बढी जोखिम अर्थात ५ अंक आउँछ त्यसको वर्षैपिच्छे स्थलगत निरिक्षण गरिने पनि उहाँले बताउनुभयो। कम जोखिम आउनेलाई दुईतीन वर्षको अन्तरालमा स्थलगत निरिक्षण गरिने श्रेष्ठले बताउनुभयो।
नेपालको धितोपत्र क्षेत्र सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट मुक्त होस भन्ने उद्देश्यले म्यानुअल तयार पारी लागू गरिएको उहाँले बताउनुभयो। सकेसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धित क्रियाकलाप नहोस भन्ने रहेको र भइहाल्यो भने पनि सुपरिवेक्षण म्यानुअलबाट भेटाउन सजिलो हुने विश्वास बोर्डको रहेको श्रेष्ठले बताउनुभयो।
सुपरिवेक्षण म्यानुअलबाट व्यवसायीको स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गरिने, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणत्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्याङ्कन हुनेछ। यसबाट उनीहरुसँग सम्बन्धित सम्पत्ती शुद्धीकरण जोखिम कति हुन्छ भनेर गणना गर्नसक्ने स्थितिमा बोर्ड पुगेको श्रेष्ठको भनाई छ।









































