काठमाण्डौं, 1 अक्टोबर
नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । सरकारले आज नै लोकदर्शन रेग्मीले दिनुभएको राजीनामा स्वीकृत गरेको छ । त्यस लगत्तै पराराष्ट्र मन्त्रालयमा सचिव रहनु भएका वैरागीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव वैरागीले आजै पदभार ग्रहण गर्नुभएको छ । मुख्य सचिवबाट राजीनामा दिनुभएका रेग्मीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेपछि आज नै उहाँको विदाई गरिएको छ । सरकारले रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस समेत गरेको छ । उहाँको तीन वर्षे कार्यकाल आगामी कार्तिक ३ पुरा हुँदै थियो । तर अनिवार्य अवकाश पाउनु अगाडी नै रेग्मीले राजीनामा दिनुभएको हो । रेग्मी २०७४ साल कार्तिक ६ गते नेपाल सरकारको २४ औं मुख्य सचिवमा नियुक्त हुनुभएको थियो ।









































