नयाँ दिल्ली, 28 अक्टोबर 2020
हरियाणा राज्यको पानीपतस्थित खोतपुरा गाँउमा अन्दाजी 30 वर्षका एक युवकको हत्या गरिएको छ । हरियाणा पुलिसले युवक नेपाली भएको हुन सक्ने आशंका गरेको छ । प्रवासी नेपाली संघ भारत, पानीपत नगर समितिका सचिव निर्मल भुषालका अनुसार खोतपुरा गाउँ नजिकै तलाउमा बोरामा हत्या गरि फ्याकिएको अवस्थामा आज एक शव बरामद गरिएको थियो । व्यक्तिको हातखुट्टा र मुखमा पट्टी बाँधिएको थियो । पुलिसले शव कुनै नेपालीको भएको हुन सक्ने आशंका गर्दै प्रवासी नेपाली संघ भारतलाई पुलिस थाना बोलाएको थियो । पुलिस थाना पुगेका प्रवासी नेपाली संघ भारत, पानीपत नगर समितिका सचिव निर्मल भुषालले शव नेपालीको नै भएको हुन सक्ने सम्भावना धेरै रहेको बताएका छन । करिब 4 दिन अघि हत्या गरि शव फ्याकिएको अनुमान गरिएकाले त्यस यता कुनै नेपाली सम्पर्कविहीन भएको भए हरियाणा पानीपत सेक्टर 6 को पुलिस थानामा सम्पर्क गर्न भुषालले आग्रह गर्नु भएको छ । यद्धपी पुलिसले अनुसन्धान जारी राखेको छ । तर शवको पहिचान नहुञ्जेलसम्म आफुहरुले अगाडीको कानूनी कारवाहीका लागि दवाब दिन नसक्ने भुषालले बताउनु भएको छ । उहाँले पानीपतमा विगतमा नेपालीहरुमाथि क्रुरताका कयौं घटना प्रकाशमा आएकाले बरामद गरिएको शव नेपालीको हुन सक्ने आशंका गर्नुभएको छ ।









































