काठमाण्डौ, 10 नोवेम्बर 2020
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्नुभएको छ। आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले ओलीलाई २७ गते बैठक बस्ने प्रस्तावमा सहमति जनाउन आग्रह गर्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालयका पाँच जना सदस्यहरुको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्डले आफुले २७ गते बैठक बस्न सहमतिका लागि आग्रह गरेपनि प्रधानमन्त्री ओलीले स्वीकार नगरेको बताउनुभयो। प्रवक्ता श्रेष्ठका अनुसार २६ गते अध्यक्ष ओलीको उपत्यका बाहिर जाने कार्यक्रम भएकाले २७ गते बैठक बस्न आग्रह गरिएको हो। प्रचण्डको प्रस्तावमा ओलीले भने अहिलेसम्म सहमति नजनाएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘भोलि अध्यक्ष केपी शर्मा ओली उपत्यका बाहिर जाने भन्ने कार्यक्रम भएको स्थितिमा २७ गते सचिवालय बैठक बस्नुपर्छ भनेर प्रचण्डले अनुरोध गर्नुभएको छ । आजको छलफलमा पनि २७ गते बस्ने कुरामा ओलीले सहमति जनाइसक्नुभएको छैन । प्रचण्डले प्रस्ताव गर्नुभएअनुसार भोलिको कार्यक्रम सकिएपछि सहमति जनाउनुहुनेछ भन्नेमा हामी आशा गर्छौ ।’’
प्रवक्ता श्रेष्ठले सहमतिमा बैठक बसौ भनेर अनुरोध गर्नु कमजोरी नभएर पार्टी एकताको रक्षा गर्न र पार्टीका निर्णयहरु कार्यान्वयन गर्ने प्रयत्न भएको पनि बताउनुभएको छ ।
२७ गते पनि ओलीले बैठक सञ्चालनका लागि सहमति नदिए के गर्नुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा प्रवक्ता श्रेष्ठले पार्टी अहिले संकटको परिस्थितिमा रहेकाले एकताप्रतिव सबै संवेदनशील रहेको बताउनुभयो । पार्टी एकताको रक्षा गर्न अहिले पनि बैठक नबसे के गर्ने भन्ने विषयमा केही नसोचेको उहाँले बताउनुभयो ।
यसअघि गत शुक्रबार सचिवालयका ५ जना सदस्यहरुले बैठक बोलाउन आग्रह गर्दै ओलीलाई लिखित प्रस्ताव गरेका थिए । तर उहाँले सहमति जनाउनुभएको थिएन् । आजको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।









































