काठमाण्डौ, 18 नोवेम्बर 2020
सत्तारुढ दलको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको काँग्रेसले बताएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै जनताले आशंका गरिरहेको काँग्रेसको भनाई छ। निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको काँग्रेसका सहमहामन्त्री प्रकाशसरणले महतले बताउनुभयो । सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजेपनि देश त्यो बाटोमा जान नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘प्रणालीको कुरा होइन् । निर्वाचित भएर आएकाहरुले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो की भन्ने परेको छ । तर त्यो होइन् । जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो । सरकारले रहँदासम्म सरकार लाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलंद गर्नुपर्छ । प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन् । त्यो बाटोमा देश जान सक्दैन् ।’’
उहाँले सरकार संवेदनशिल नबनेका कारण महामारी नियन्त्रण बाहिर गएको समेत बताउनुभएको छ । महामारी विरुद्धको लडाईमा सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण-व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन अस्पतालहरुमा बेडको व्यवस्था गरी अगाडी बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘निर्वाचनमा गरेको बाचा विपरित सरकारले काम गरिहरेको छ । सरकारस संवेदनशिल भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो । सुरुमा आइसोलेसन, क्वारेन्टिन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो वर्ष आउने थिएन् । अहिले सरकार औषधि खरिद र राहत वितरणको रुपमा फाइदा उठाउने अभियानमा लागेको छ ।’’
सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको पनि उहाँले बनाउनुभयो । सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ । यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरु देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली जसरी भएपनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहाने नेताहरुले त्यो पुग्न गरिरहेको लडाईले नेपाली जनता मारमा परेका छन् ।’’









































