देहरादून, 30 नोभेम्बर 2020
उत्तराखण्ड राज्यको देहरादुनमा हरेक वर्ष गरिने खलंगा ब्रेभरी वाक यो वर्ष पनि गरिएको छ । नालापानी युद्धमा वीरताको प्रदर्शन गरेका गोर्खा सेनाको सम्मानमा हरेक वर्ष गरिने ब्रेभरी वाक यो वर्ष कोभिड-19 महामारीका कारण वृहतस्तरमा भने गरिएन । तर सिमीत संख्यामा गोर्खालीहरु भेला भएर खलंगा ब्रेभरी वाक गरेका हुन । वीर गोरखा कल्याण समिति, शान्ति फाउण्डेशन र हेल्प क्रसले खलंगा ब्रेभरी वाकको आयोजना गरेका हुन । आइतवार विहान खलंगा ब्रेभरी वाक 2020 को आयोजना गरिएको हो । कार्यक्रममा मुख्य अतिथि उत्तराखण्ड सब एरियाका जी.ओ.सी. मेजर जनरल आर.एस.ठाकुर, अति विशिष्ट अतिथि गोरखा कल्याण परिषद, उत्तराखण्ड सरकारका राज्यमन्त्री टीडी भूटिया, र वीर गोरखा कल्याण समितिका अध्यक्ष श्रवण सिंह प्रधानले हरियो झण्डा देखाएर यस वीरता पद यात्राको शुभारम्भ गर्नु भएको थियो ।

देहरादुनको खलंगा द्वार नालापानीबाट शुरू गरिएको ब्रेभरी वाक खलंगा युद्ध स्मारकमा सन 1814 मा भएको खलंगा युद्धका वीरहरुको स्मरणमा श्रद्धाञ्जलि सभा गर्दै सकिएको हो ।

देविन शाहीले सञ्चालन गरेको कार्यक्रममा वीर गोरखा कल्याण समिति (रजि) अध्यक्ष श्रवण सिंह प्रधानले वीर गोरखाको पराक्रम र खलंगाको सम्पूर्ण इतिहासबारे बताउनुभयो।

यसै युद्धपछि अंग्रेज सेनाले हारका बावजुद गोर्खा सेनाको सम्मानमा स्मारक पनि बनाएको थियो ।
देहरादूनको नालापानीमा सन् १८१४ मा तत्कालीन आधुनिकहतियारसहित रहेका 35 सय अंग्रेज सेनालाई महिला बालबालिकासहितको 6 सय जनाको गोर्खा सेनाले परास्त गरेको थियो । तर यस युद्धमा पटक-पटक पनि गोर्खा सेनालाई पराजित गर्न नसकेपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र जाने पानीको मुहान थुनिदिए । फलस्वरुप पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । पानाको हाहाकार भएपछि जीवित रहेका बाँकी 70 सेनाको हितका लागि बलभद्र कुँवरले स्वतः किल्ला छोड्नुपरेको थियो । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरेका छन । उक्त स्मारकको शिलालेखमा लेखिएको छ- हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार। सो स्मारक हालको देहरादून स्थित सहस्त्रधार रोडमा पर्दछ।

खलंगा ब्रेभरी वाक 2020 का दौरान प्रसिद्ध गायिका शिकायना मुखिया, जे.बी. राई र सुनीता बिष्टले आफ्नो प्रस्तुती दिएका थिए।
कार्यक्रममा अरुण सूद अन्तरराष्ट्रीय भलिबल खेलाडी, कमला थापा (प्रदेश अध्यक्ष हाम्रो स्वाभिमान), पूर्ब ज़िल्ला पंचायत संध्या थापा, पूर्ब ग्राम प्रधान निर्मला थापा, ज्योति कोतिया वीर गोरखा कल्याण समितिका वरिष्ठ उपाध्यक्ष कमल थापा, उपाध्यक्ष उर्मिला तामांग, उपाध्यक्ष सूर्य विक्रम शाही, महासचिव विशाल थापा, सचिव देविन शाही, कोषाध्यक्ष टेकू थापा, सांस्कृतिक सचिव देवकला दीवान संरक्षक सारिका प्रधान, कर्नल फुल माया एवं सक्रिय सदस्यहरु यामू राना, आशु थापा, झगू राना, डमर थापा, करमिता थापा, बुदेश राई, मनोज तामांग, नंद बहादुर थापा, दील कुमारी शाही, सोना शाही , पदमी थापा ,संजय थापा, बलदेव छेत्री सहित अन्य कयौं उपस्थित रहेका थिए ।









































