काठमाण्डौ, 4 डिसेम्बर 2020
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन। थापाथली स्थित इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहले भेला गरेका हुन् । नेकपामा दुई अध्यक्षबीच विवाद चर्किदै गएका बेला दाहाल-नेपाल समूहका विद्याथीहरु भेला भएका हुन् । विद्यार्थीहरुको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । भेलालाई सम्बोधन गर्न पुग्नु भएकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै शनिबार सचिवालय बैठक बस्नैपर्ने बताउनुभयो। प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भाग लिन्न भन्न नपाउने उहाँले बताउनुभयो । बैठकमा भाग लिएर निकास दिनुपर्ने शाक्यले बताउनुभयो ।
दुईवटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा गइनसक्ने पनि नेता शाक्यले बताउनुभयो । भोलीको सचिवालयमा बसेर संयमताका साथ बहस गर्न नेताहरुलाई आग्रह गरिएको पनि शाक्यले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिन भन्नुभएको हो भने अर्का अध्यक्ष ओलीले प्रतिउत्तर किन दिनुभयो भन्दै शाक्यले प्रश्न गर्नुभयो । लिखित प्रतिउत्तर दिने तर छलफलमा बस्दिन भन्न नमिल्ने शाक्यले बताउनुभयो । ‘दस्तावेज मान्दिन भनेर भनेको हो भने उहाँले प्रतिउत्तर किन दिनुप¥यो । अध्यक्ष ओलीले नै पहल गरेर एकता भएको पार्टी भित्र देखिएका समस्याको समाधान गर्दै सबैलाई एक बनाएर लैजाने दायित्व पनि उहाँकै भएको बताउनुभयो । बैठकबाट भाग्ने विषय लोकतान्त्रिक चरित्र नभएको पनि शाक्यले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्न पुग्नु भएकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि पत्रकारहरुसँग कुराकानी गर्दै शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गर्नुभयो । समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसालले बताउनुभयो ।
उहाँले जसले समस्याको छलफल गर्न सक्छ वा अन्तर विरोधको हल गर्न सक्छ त्यो मात्रै सही नेतृत्व हुने बताउनुभयो । उहाँले बैठकहरु निरन्तर अगाडि बढाउने बताउनुभयो ।
भेलालाई दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैह्रे लगायतले सम्बोधन गर्नुभयो । भेलामा पत्रकारहरुलाई प्रवेश गर्न दिइएको थिएन् ।









































