काठमाण्डौ, 11 डिसेम्बर 2020
कोभिड महामारीका कारण विगत ८ महिनादखि बन्द रहेको नेपाल–भारतबिचको व्यवसायिक उडान अर्को सातादेखि सञ्चालन हुने भएको छ । नेपालले उडान सुचारु गराउन गरेको प्रस्तावलाई भारतले बिहीबार स्वीकृत गरेको हो । भारतले प्रस्ताव स्वीकृत भएको कूटनीतिक नियोगमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतलाई जानकारी पठाएको हो । पुस 2 गतेदेखि काठमाडौं–दिल्ली उडान शुरु हुने भनिएको छ । बेङ्गलुरु, मुम्बई, कोलकाता र बनारस उडान भने अहिले खुलाइएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपाली ध्वजावाहक नेपाल एयरलायन्स र भारतीय ध्वजावाहक एयर इन्डियाले दैनिक एक/एक वटा उडान गर्न पाउने छन् । उडान सुचारु हुने खबरपछि भारतमा उपचार गराउन आएका विरामी, पढ्न आएका विद्यार्थी रोजगारी गर्ने र व्यापारीहरु खुशी भएका छन । काठमाडौं–दिल्लीको उडान पुस २ गतेदेखि गर्न टिकट खुला गरिसकिएको जनाइएको छ । प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक राजकुमार क्षत्रीका अनुसार भारतीय वायुसेवाले पुस २ गतेदेखि नै दिल्ली–काठमाडौं उडान गर्न अनुमति मागिसकेको छ । नेपाल एयरलायन्सले आज भारत र नेपालका हवाई निकायमा अनुमतिका लागि आवेदन दिँदै छ । उडान सेवा मार्फत तोकिएको गन्तव्यसम्म नेपाली र भारतीयले जान पाउनेछन भने तेस्रो मुलुक आउजाउ गर्न सकिने छैन । यात्रुले यात्रा गर्नुपूर्व ७२ घण्टासम्मको पीसीआर जाँच नेगेटिभ भएको प्रयोगशालाको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने लगायतका नियम बनाइएको छ । नेपालका लागि खाडी र अन्य मुलुकले यसअघि नै उडान सञ्चालन गरिसकेका छन् ।









































