मकवानपुर,14 डिसेम्बर 2020
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावी गर्नुभएको छ। नेपाली काँग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले सर्वसत्तावाद ल्याउन खोजेपनि जनताले स्वतन्त्र र लोकतन्त्रका लागि लडेकाले त्यो सम्भव नरहेको बताउनुभएको हो । उहाँले ओली सरकारकै अकर्मण्यताले सडकमा राजाको पक्षमा नारा लागेको भन्दै राजा फर्कने सम्भावना पनि नरहेको दावी गर्नुभयो । उहाँले वर्तमान सरकारकै कारण भ्रष्टाचार, बलात्कार जस्ता घटना बढिरहेको भन्दै भ्रष्टाचार, बलात्कार जस्ता विकृतिको अन्त्य र सर्वसत्तावादको विरुद्धमा कांग्रेस सडकमा उत्रिएको बताउनुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले औषधी खरिदमा भएको भ्रष्टाचारलाई ढाकछोप गरेर सरकारले भ्रष्टाचारलाई नै प्रोत्साहन गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकले यसलाई पुष्टि गरिदिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतले सरकार जनताको हितमा खटिनु पर्ने समयमा आफ्नै स्वार्थमा डुबेकाले जनताको पक्षमा कांग्रेस सडकमा उत्रिएको बताउनुभयो । विरोध सभा अघि हेटौंडाको सानोपोखरा, चौकीटोली, जिल्ला प्रहरी कार्यालय चोक र फरेष्ट्री चोकबाट र्याली निकालिएको थियो ।









































