कैलाली, 30 डिसेम्बर 2020
आज पुस १५ गते सुदूरपश्चिम प्रदेशमा ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित प्रदेशका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व मनाउने चलन रहेको छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत–संगीतको समेत भरपुर आनन्द लिने गर्दछन। राति १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । यसलाई सुदूरपश्चिममा ‘बातै’ भन्ने चलन छ ।
कोरोना महामारीका कारण यो वर्ष पहिलेजस्तो गरी मनाउन नसकिने स्थानीयहरुको भनाई छ । आजको दिन सुदूरपश्चिमका मानिसहरुले बञ्चरो, हँसिया, घाँसपात, दाउरा बाँध्ने डोरी आदिको पनि पूजा गर्ने पनि चलन रहेको छ । आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली रमाइलो गर्ने चलन छ । पुस पन्ध्रको लामो रातलाई कतै–कतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिनइने गरिन्छ ।









































