नयाँ दिल्ली, 4 जनवरी 2021
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत पुग्नु भएको छ । पत्नी सीता दाहालको उपचारका लागि भन्दै प्रचण्ड भारत प्रस्थान गरेको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिनुभयो। प्रचण्डकी पत्नी सीता दाहालको मेडिसिटीमा उपचार भएपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचार गर्न मुम्बई लगिएको छ।
प्रचण्ड पत्नीको उपचार गराउन भारतमा रहेपनि राजनीतिक भेटघाट हुने नहुनेबारे स्पष्ट हुन सकेको छैन । सापकोटाका अनुसार राजनीतिक भेटघाटबारे केही तय नभएको र अहिले केही भन्न सकिन्न । अहिलेसम्म उपचारकै लागि भनेर जान लागेको भएपनि पछि के हुन्छ भन्न नसकिने सापकोटाले बताउनुभयो । नेपालमा संसद विघटन भएपछि अन्तर्राष्ट्रिय समुदायले यसबारेमा नबोलेको भन्दै प्रचण्डले आपत्ती जनाउनुभएको थियो । यस अवस्थामा उपचारकै लागि भारत गएपनि राजनीतिक भेटघाट हुन सक्ने अनुमान गरिएको छ ।









































