काठमाण्डौ, 7 जनवरी 2021
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनको सम्बन्धमा विभिन्न क्षेत्रका वुद्धिजीवीहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री ओलीले हठात रुपमा प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेपछि अलग अलग भेला बैठक गरिरहेको प्रचण्ड–माधव समूहले संघर्षका आगामी कदमबारे वुद्धिजीवीहरुसँग धारणा मागेको छ । बिहीबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रियामा बुद्धिजीवीहरुले सरकारको कदमको विरोध गर्दै जनतामा जान सुझाव दिएका छन् । यस्तै जनतामा जाँदा आफ्ना कमिकमजोरीहरु र प्रतिवद्धताहरु खुलस्त रुपमा राख्न पनि सुझाव दिएका छन् । कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले विगतमा भएका सैद्धान्तिक र नीतिगत भूलको समिक्षा गरी गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाएर मात्रै आन्दोलनमा जान सुझाव दिनुभएको छ । गलत कदम चाल्ने प्रधानमन्त्री ओलीको पतन निश्चित भएको पनि बताउनुभयो । आफू पतन हुँदै लोकतन्त्रलाई पनि पतन गराउने हो की भन्ने खतरा रहेको पनि पहाडीले बताउनुभयो । यस्तै सरकारले वैशाखमा चुनाव गर्ने कुनै मनसाय नराखेको स्पष्ट हुने पनि बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि दाहालले असंवैधानिक कदमको विरुद्धमा सबै दल एक भएर आन्दोलनका कार्यक्रम गर्न सुझाव दिनुभयो । सबै दल एक भए मात्रै संविधान र लोकतन्त्रको रक्षा गर्न सकिने उहाँको भनाई छ ।
मानवअधिकारकर्मी मोहना अनसारीले स्वतन्त्र रुपमा नागरिकले बाँच्न पाउने अधिकार विस्तारै कुण्ठित हुने अवस्था आउन लागेको बताउनुभयो । अहिलेको विकसित राजनीतिक घटनाक्रमले संवैधानिक संकट तर्फ देशलाई धकेलिरहेको बताउनुभयो ।
अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले संसदले काम नगरे राजीनामा दिने ठाउँमा प्रधानमन्त्रीले आफ्नो नैतिकता देखाउन नसकेको बताउनुभयो । प्रधानमन्त्रीमा देखिएको हठका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको बताउनुभयो ।
पूर्व सभामुख दमननाथ ढुंगानाले राजनीतिक संकट आउँदा मात्रै विज्ञहरुलाई संझिएको भन्दै राजनीतिक दलहरुको प्रवृति माथि प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्रीले के गर्दै हुनुहुन्छ भन्ने आफ्नै दलका नेताहरुलाई थाहा नहुने अवस्था कसरी भयो त्यसको जवाफ नेताहरुले दिनुपर्ने बताउनुभयो ।
पूर्व मुख्यसचिव लिलामणि पौडेलले मुलुक अस्थिरता तर्फ र संवैधानिक संकट तर्फ जाने खतरा बढेको बताउनुभयो । राजनीतिक दलहरुले सरकारमा बसेको बेला पारदर्शी ढंगले सरकार सञ्चालन गर्छन वा गर्दैनन भन्ने कुरालाई हेरेर अवको दिनमा हुने आन्दोलनमा जनताले साथ दिने वा नदिने निर्धारण गर्ने बताउनुभयो ।









































