काठमाण्डौ, 7 जनवरी 2021
राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बैशाखमा चुनाव नहुने बताउनुभएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाउने संसदको अधिकार भएकोले त्यससँग डराएर संसद विघटन गर्न नहुने बताउनुभयो । पार्टीले काम गर्न नदिए अध्यक्ष असफल भएको हुने र अविश्वास प्रस्ताव आउन लागे प्रधानमन्त्री असफल हुने भन्दै उहाँले सरकारलाई पार्टीले सहयोग गरेको भएपनि पार्टीको विवादमा प्रधामन्त्रीले संसद र व्यवस्था माथि प्रहार गरेको बताउनुभयो । वैशाखमा चुनाव नहुने भन्दै उहाँले प्रधानमन्त्रीले झुठो बोलेको साबित भएको बताउनुभयो । सांसद बिडारीले संविधान निर्माण गर्दाताका देश विदेशका विज्ञहरुसँग परामर्श गरी प्रतिनिधि सभा प्रधानमन्त्रीको सनकको भरमा भंग गर्न नसकिने बनाइएको बताउनुभयो । सरकारको अलोकप्रियता बढ्दै गएकाले यो व्यवस्था, बहुदलीय प्रतिस्पर्धा हुने प्रणाली र आफ्नै पार्टीका विरुद्धमा संसद विघटनको घोषणा गरिएको उहाँको भनाई छ । राष्ट्रियता, संघीयता, एकता, तथा गणतन्त्रको प्रतिक राष्ट्रपतिलाई समेत संसारका अगाडी लज्जीत बनाउने दुष्कार्य गरिएको उहाँले बताउनुभयो । संसद विघटनले राज्यको सबै संवैधानिक आयोगका पदाधिकारीलाई पनि विवादास्पद बनाउने काम भएको उहाँको भनाई छ ।









































