काठमाण्डौ, 20 जनवरी 2021
विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन। मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश-१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो। आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सम्पन्न सबै तीन खेलमा प्रदेश-१ ले नतिजा सुम्पिएको छ। पुलिसले जारी प्रतियोगितामा लगातार पहिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश-१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्दा आर्मीको जारी प्रतियोगितामा लगातार तेस्रो जित निक्लिएको हो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाउँदा भिम सार्कीले २९, राजेश पुलामी २४ रनमा नट आउट रहे । लोकेश बमले १३ रन बनाए ।
प्रदेश१ का फिर्दोस अन्सारी,ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभंकर उरा ले १/१ विकेट लिए । यस अघि पहिलो ब्याटिङ गरेको प्रदेश-१ ले ४०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३१ रन जोड्न सक्यो । प्रदेश-१ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९, दिपेश कँडेलले ११ रनको योगदान गरे । बलिङमा आर्मीका शाहब आलमले ४ विकेट हात पार्दा आकाश चन्दको नाममा ३ विकेट रह्यो । जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ ।
समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ । यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो । समूह ‘ए’ मा रहेको प्रदेश-१ यस अघि एपिएफ र गण्डकी प्रदेशसँग पराजित भएको थियो । यो सँगै प्रदेश-१ को नकआउट चरण यात्रा समाप्त भएको छ ।
दिनको अर्को खेलमा पुलिसलाई पहिलो जिताउनका लागि सुनिल धमला र कुशल भुर्तेलले अर्धसतकिय इनिङ्स खेले । धमलाले ५३ रन जोड्दा कुशल भुर्तेल ५१ रन नटआउट रहे । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको हो । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए । अमित श्रेष्ठ १ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन जोडेको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे । अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रनको व्यीक्तगत स्कोर बनाए । सुदूरपश्चिमको इनिङ्सलाई न्युन स्कोरमा रोक्न पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४/४ विकेट लिए । दुई खेलबाट पहिलो जित निकालेको पुलिसको २ खेलमा तालिकामा २ अंक भएको छ । समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा बाग्मती प्रदेशसँग पराजित भएको थियो । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै पराजित भएको थियो । लगातार पराजय भोगको सुदूरपश्चिमको अघिल्लो चरणको यात्रा कठिन भएको छ । आगामी खेलमा अघिल्लो चरण प्रवेशका लागि जित्ने पर्ने दबाब भएको छ । प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबले लम्बिनी प्रदेशसँग प्रतिस्र्धा गर्दा मूलपानी मैदानमा एपिएफ क्लबले गण्डकी प्रदेशसँग खेल्ने छ ।









































