काठमाण्डौं, 23 जनवरी 2021
काठमाडौँको टेकु पचलीस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको छ । शनिबार शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिईएको स्थानमा उहाँको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको शहीद सप्ताहको सुरुवात गरिएको छ । हरेक वर्ष काठमाडौँ महानगरपालिकाले शहीद सप्ताह मनाउने गरेको छ ।
शुक्रराज शास्त्री जहाँनिया राणा शासनको विरुद्द लड्ने चार शहीदमध्ये एक हुनुहुन्छ । शहीद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गतेसहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुने छ । त्यसैगरी माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरी निकालेर शहीद स्मारक लैनचौर पुगि सम्पूर्ण शहिदप्रति श्रद्धाञ्जली सभा हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।









































