नयाँ दिल्ली, 12 फेब्रुअरी 2021
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइदैछ । भारतका विभिन्न स्थानमा रहने नेपाली भाषीहरुले पनि सोनाम ल्होसार मनाईरहेका छन । हिमाचल प्रदेशमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लू मनाली नगर समितिका अध्यक्ष साईला शेर्पाले सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई ल्होसारको शुभकामना दिदै आफु रहेको स्थानमा आफ्नो परम्परा अनुसार ल्होसार मनाउन सुझाव दिनुभयो । उहाँले यस वर्ष कालो महिना शुरु भएकाले विभिन्न जनजातिहरुले एकैसाथ ल्होसार पर्व मनाईरहेकाले यो खुशीको कुरा पनि भएको बताउनु भयो । उहाँले कालो महिनामा कामको शुरुवात राम्रो नहुने भएपनि बुद्धको नाम लिएर शुरु गर्दा राम्रो हुने पनि बताउनुभयो ।









































