नयाँ दिल्ली, 12 फेब्रुअरी 2021
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले आज भारतको बिहार राज्यका मुख्यमन्त्री नितिशकुमारसँग शिष्टाचार भेटघाट गर्नु भएको छ । बिहारका मुख्यमन्त्री नितीश कुमार दिल्लीस्थित आफ्नो निवासमा आएका बेला राजदूत आचार्य आज बिहान उहाँलाई भेट्न उहाँको घरमा पुग्नु भएको थियो ।
नेशनल लाईभसँग कुरा गर्दै राजदूत आचार्यले आज मुख्यमन्त्री नितीश कुमारसित विहान शिष्टाचार भेट भएको बताउनु भयो । भेटमा नेपाल र भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको बताउनुभयो । छलफलका क्रममा बिहार राज्य र नेपालको तराई क्षेत्रमा उत्पन्न हुने विविध समस्या र तिनको समाधानका विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँले खाशगरि तराईमा वर्षेनी आउने बाढी र त्यसले पार्ने क्षतिलाई कम गर्न कसरी सहकार्य गरेर अगाडी बढ्ने लगायतका विषयमा पनि छलफल भएको बताउनु भयो । उहाँले नेपाल र भारत सम्बन्धलाई थप सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको बताउनु भयो। उहाँले शिष्टाचार भेट भएकाले सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमानै मुख्यगरि छलफल भएको जानकारी दिनुभयो ।









































