काठमाण्डौ,24 मार्च 2021
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को केन्द्रीय कार्यालय बनाउन लागिएको भवनको निरीक्षण गर्नुभएको छ। बुधबार थापाथली स्थित नेकपा(एमाले)को केन्द्रीय कार्यालय सार्न लागिएको नयाँ भवनमा प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो। प्रधानमन्त्री ओलीको साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो। नेकपा(एमाले) को कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो। साढे २ तलाको उक्त घरमा १३ कोठा रहेको बताइएको छ। हाल नेकपा(एमाले)को केन्द्रीय कार्यालय धुम्बाराहीमा रहेको छ। थापाथलीस्थित उक्त घरमा कार्यालय राख्न पाँच वर्षको लागि सम्झौता भएको र बैशाख १ गते सर्ने बताइएको छ।