26 मार्च 2021, भैरहवा-सुनौली, नेशनल लाईभ संवाददाता
लकडाउनपछि झण्डै समान्य जस्तै भएको नेपाल-भारत सीमामा अहिले फेरि ओहोर-दोहोरमा कडाई गरिएको छ । नेपालको सिमा सुरक्षामा खटिएको शसस्त्र प्रहरी बल तथा भारतीय सिमा सुरक्षा बललाई आएको माथिल्लो निकायको निर्देशनको आधारमा नेपाल भारत आवत-जावत गर्ने दुई देशका नागरिकहरूलाई कडा निगरानीका साथ सुरक्षा निकायले ओहोर दोहोर गर्न दिएको छ । भैरहावा सुनौली नाकामा नेपालतर्फबाट नागरिकता देखाउदै सिमा पारिका बजार गर्न जानेहरुका लागि ठाडै दस गजामा भारतीय सुरक्षा निकायले रोकेको छ ।
भारतबाट नेपाल जाने नेपाली नागरिकलाई नेपाली सुरक्षा निकायले सहजै नेपाल जान दिएपनी उनिहरुको लेखाजोखा राखेर मात्र जान दिएको छ । भारततर्फ जानेहरूको लागि आधार कार्ड लगायत देखाउदै लेखाजोखा सहित भारत जान दिएको छ । बिरामी तथा अत्यावश्यक कामका लागि जाने नेपाली नागरिकको कागजपत्र हेरेर भारततर्फ सहजै जान भने भारतीय सिमामा खटिएका सुरक्षाकर्मिहरुले सहज वातावरण बनाउदै जान-आउन दिएका छन । यस्तो निर्देशन आएको कारण जान्न नेशनल लाईवका भैरहवा-सुनौली सम्वाददाताले जानकारी लिन खोज्दा विशेष सुत्रका अनुसार भारतमा बढ्दै गैरहेको कोरोनाका कारण दुबै देशले कडा निगरानी अपनाउनु परेको खुल्न आएको हो । नेपाल तर्फबाट सिमापारीको बजारमा गएर किनमेल गर्न हिजोसम्म सहज वातावरण थियो । तर आजदेखी सिमापारीका बजारमा गई मालसामान किनमेलका लागि रोक लगाइएको छ । यस्तै अवस्था बढ्दै गयो भने फेरि एकपटक सिमापारी रहेका बजारहरु सुनसान रहने अवस्था देखिन्छ । ती भारतीय बजारहरु जुन नेपालतिरबाट गए मात्रै बजारको रुपमा भिड्भाड हुने नत्र सुनसान हुने गर्दछन ।









































