काठमाडौं, 26 मार्च 2021
नेपाल काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज(शुक्रबार) निधन भएको छ । फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आजसाँझ ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालका आधिकारीले जानकारी दिएका छन । मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उनँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए । ‘नेता जोशीको निधनप्रति नर्भिक अस्पताल दुःख प्रकट गर्दछ । शोकाकूल परिवारमा समवेदनाका साथमा दिवंगत आत्माको चिरशान्तिको समेत कामना गर्दछौं ,’ विज्ञप्तिमा उल्लेख छ । जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।









































