काठमाण्डौ, 12 अप्रैल 2021
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले दोश्रो पटक पनि संसद भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सकुनीले जसरी दोश्रो पटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई आग्रह गर्नुभएको हो । उहाँले सकुनीले जस्तो दोश्रो पटक पासा फ्याकेर संसद विघटन गर्ने दिशामा अघि नबढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । उहाँले संसदलाई पुरा कार्यकाल काम गर्न दिने अवस्था श्रृजना गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय नीतिलाई आफ्नो तजबीजको कुरा नमानिकन संसदका प्रत्येक पार्टीले उठाएका र नागरिक समाजले उठाएका ज्वलन्त सवाललाई सम्बोधन गरी नयाँ उचाई प्राप्त गर्न पनि सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो “जालझेल गरेर सकुनीले पासा फ्याके जस्तो गरेर दुवारा पासा फ्याकेर , सकुनीले दुई पटक पासा फ्याकेका थिए । एकपटकको पासालाई द्रौपतिको प्रतिउत्तर निरस्त्र गरेको थियो । दुवारा पासा फ्याकेर फेरि पाण्डवलाई जंगल पठाए जस्तो संसद विघटन गर्ने दिशामा कृपया नगईदिनोस । ”
व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै व्यवस्थामा भएका त्रुटीलाई व्यक्तिले सहि नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद नै भंग गरेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “म मेरै गोरुको बार्है टक्का भन्ने पक्षमा छैन तर मलाई शंका छ, हाम्रा शिर्षस्थ मानिस मुलुकका सबैभन्दा प्रभावशाली मानिस, मुलुकको सबैभन्दा बलियो मानिस, (प्रधानमन्त्री भन्न चाहन्न) भन्दै हुनुहुन्छ कि मै ठिक छु, मेरा कुरा सबै तिमिहरुले मान । ”
शनिबार काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजिए “सकुनीका गोटी” नै फ्याँक्न बताउनुभएको थियो।
उहाँले “ संसदको अंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?” भन्नुभएको थियो ।
सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरीले विभिन्न समयमा र परिस्थितिका राजनीतिक असन्तुष्टीहरु थपिदै आएर चरम राजनीतिक संकटको रुपमा देखापरेको टिप्पणी गर्नुभयो । अरुलाई दोषारोपण गर्नु भन्दा आफै भित्र चिन्तन गरेर संकटको घडीमा सबै एक भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । म मेरै गोरुको बार्है टक्का भन्ने अडानबाट पछि हटेर सबै विकल्पहरुमा गम्भीर छलफल र परामर्श गरी निर्वाचनमा जाने भएपनि राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो “यो संकट एकदिनमा आएको होइन संकट क्रमश आएका छन् र म विनम्रतापुर्वक आव्हान गर्दछु । मुख्यतः प्रधानमन्त्रीका कारण आएका छन् । दिनप्रतिदिनको विवाद, दिन प्रतिदिनको भ्रष्टाचारको कथा हाम्रो संसदको भनाभनबाट जुहारीबाट हल हुदैन । हामी जुहारीमा व्यस्त छौ । आम जनताको ,कर्मचारीको, महिलाको, दलितको, महंगाईको दुखमा हामीले सम्बोधन गरेका छैनौ । त्यसैले भावुक भएर म भन्दैछु ,आज मुलुकलाई यो अवस्थामा पुर्याउनका लागि म दोषी छु । संसदका हामी सबै दोषी छौ । ठण्डा दिमागले हामी सबैले एक किन हामी यहाँ आईपुग्यौ ? किन ४७ सालको संविधान असफल भयो ? अब हामी यसपटक अर्को बाटो जान चाहन्छौ भने को जिम्मेदार छ ? जिम्मेदार खोजिन्छ ।”
उहाँले २०४७ सालको जस्तो संविधान वा चुच्चे नक्सा जस्तो अवस्था संविधानको नबनाउन ध्यानाकर्षण गराउनुभयो ।









































