काठमाण्डौं, 19 अप्रैल 2021
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गर्नुभएको छ। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली तर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताउनुभएको हो । यस्तै प्रधानमन्त्री बनाउन जसले भर्याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्याईदिएको पनि टिप्पणी गर्नुभयो । यस्तै प्रधानमन्त्री ओलीले केही खास मान्छेहरुलाई किनेर भजनमण्डली बनाएको पनि आरोप लागाउनुभयो । आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताउनुभयो । नेता नेपालले संसदले राम्रो भूमिका निर्वाह गर्दैगर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई नै घाँडो ठानेको पनि बताउनुभयो । यस्तै आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेको पनि आरोप लगाउनुभयो । तर नेपाली जनतामा सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृतिको हार हुने पनि बताउनुभयो ।
नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताउनुभयो । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृतिको विरोध गरिरहेको पनि स्पष्ट पार्नुभयो । तर प्रतिगमनले फेरी सताएको पनि नेता नेपालले बताउनुभयो । विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भएको तरपनि प्रतिगमनले नछोडेको अनुभुति भएको पनि बताउनुभयो । तर अन्त्यमा सत्यकै जित हुने विश्वास आफूहरुको रहेको पनि बताउनुभयो ।
देशलाई आर्थिक क्षेत्रको प्रगतिमा, आर्थिक समृद्धिको दिशामा लैजान र गरिबी, अभाव, बेरोजगारी यी सबै समस्याहरुको समाधान गर्ने कुरामा सुशासनको अपेक्षा आफूहरुले गरेको पनि बताउनुभयो । यस्तै समाज परिवर्तनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि नेता नेपालले बताउनुभयो । समाजका राम्रा कुरालाई प्रोत्साहित गर्ने र नराम्रा कामलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्ने कुरामा लाग्न पत्रकारहरुलाई सुझाव पनि दिनुभयो । देशको विभिन्न कालखण्डमा अधिकारका निम्ति भएको राजनीतिक क्रान्तिमा पत्रकारिता जगतले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो ।









































