नयाँ दिल्ली, 20 अप्रेल 2021
भारतको राजधानी दिल्ली नजिक हरियाणाको फरीदाबादमा रहँदै आएका समाजसेवी एवं व्यवसायी कृष्ण बोहराको मंगलवार असामयिक निधन भएको छ। दुई/तीन दिनदेखि अस्वस्थ महसुस गर्दै आएका उनको आज बिहान साढ़े 10 बजे अस्पतालमा निधन भएको हो। अखिल भारत नेपाली एकता मञ्चका आरबी खडकाका अनुसार कृष्ण बोहरासँग कुरा गर्दा उनलाई दुई दिनदेखि स्वास्थयमा समस्या भएको र आज बिहान साँस फेर्न समेत अप्ठ्यारो भएपछि अस्पताल लगिएको थियो। अस्पताल पुगेको केही बेर पछि उनले अन्तिम साँस लिएका हुन। यद्पि अहिले दिल्लीमा कोरोना संक्रमण अति बढ़े पनि उनको निधन कोरोनाका कारणले नभएको भनिएको छ। उनको कोविड जाँच गराउँदा RT-PCR रिपोर्ट नेगेटिव आएको थियो। कृष्ण बोहरा दिल्ली एनसीआरमा प्राय हुने सभा-समारोहमा उपस्थित हुनुका साथै नेपाली समाजप्रति निकै घुलमिल रहेका थिए । उनको व्यवहारका कारण पनि दिल्ली एनसीआरमा उनलाई नचिन्ने सायदै कोहि थियो होला। डडेल्धुरा जिल्लाका स्थायी बासिन्दा कृष्ण बोहरा परिवारको साथमा फरीदाबादमा बस्दै आएका थिए। माओवादी पार्टी प्रवास संगठनका केन्द्रीय नेता समेत रहेका कृष्ण बोहरा सफल व्यवसायी मानिन्छन। उनको निधनपछि पूरै दिल्ली एनसीआरमा रहने नेपाली समुदायमा शोकको लहर छाएको छ। उनको निधनप्रति नेशनल लाईव टीभी हार्दिक संवेदना प्रकट गर्दै मृत आत्माको शान्तिको कामना गर्दछ।









































