नयाँ दिल्ली, 23 अप्रेल 2021
नेशनल लाईभ टीभीका प्रस्तोता एंव नेपाल रेमिट मनी ट्रान्सफरका प्रवन्धक बिरेन्द्र खड्काको असामयिक निधनप्रति दिल्लीस्थित नेपाली राजदूतावासले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक सम्वेदना प्रकट गरेको छ । शुक्रवार नेशनल लाईभलाई फोन गर्दै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेशनल लाईभका प्रस्तोता बिरेन्द्र खड्काको असामयिक निधनले मर्माहित भएको भन्दै नेपाली राजदूतावासका तर्फबाट गहिरो दुःख व्यक्त गर्नुका साथै मृत आत्मा शान्तिको कामना गर्नुभयो । बिरेन्द्र खड्काको पारिवारिक सदस्यका बारेमा जानकारी लिँदै राजदूतले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो ।
त्यसैगरि नेपाली राजदूतावासका नियोग उपप्रमुख राम प्रसाद सुवेदीले पनि घटना प्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।
त्यसैगरि दूतावासकै काउन्सीलर इन्द्र लामाले पनि घटनाले मर्माहत भएको भन्दै मृत आत्माको शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।
त्यसैगरि नेपाल पत्रकार महासंघ भारत शाखाले पनि नेशनल लाईभका समाचार प्रस्तोता एंव नेपाल रेमिट मनी ट्रान्सफरका प्रवन्धक बिरेन्द्र खडकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गरेको छ । शाखाका अध्यक्ष लोकेश शाहले बिरेन्द्र खडका एक अध्ययनशील व्यक्ति भएको र भारतमा पत्रकारिता क्षेत्रमा क्रियाशिल भएर लागेका एक पत्रकार समेत भएकाले उनको निधनले प्रवासी पत्रकारिता क्षेत्रमा पनि क्षति पुगेको बताउनुभयो ।
उनको असामयिक निधनप्रति दिल्ली एनसीआरका नेपालीहरुले आश्चर्य प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिरहेका छन ।
नेपाल रेमिट मनी ट्रान्सफरका प्रवन्धक एंव नेशनल लाईभ टीभीका प्रस्तोता बिरेन्द्र खड्काको गए बुधवार विहान दिल्लीमा निधन भएको हो । उनको शवलाई उनको जन्मस्थान मालारानी -5 अर्घाखाँची पुऱ्याइएपछि बिहीवार विहान अन्तिम संस्कार गरिएको छ । उनको निधनका कारण पुरै गाँउनै शोकमग्न भएको छ ।









































