नयाँ दिल्ली, 9 मई 2021
दिल्लीमा फेरि एक साताका लागि लकडाउन बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज लकडाउनको अवधि 17 मईसम्म बढाउनु भएको हो । यस लकडाउनमा मेट्रो रेल सेवा पनि बन्द रहनेछ । यसअघि दिल्लीमा जारी लकडाउनमा मेट्रो सहित यातायातका साधनहरु खुल्ला रहेका थिए । मुख्यमन्त्रीले पछिल्लो केही दिनमा संक्रमण दरमा कमी आए पनि झनै कडाईको आवश्यकता भएको बताउनु भयो ।
मुख्यमन्त्री अरविन्द केजरीवालले आज पत्रकारहरुलाई जानकारी दिँदै राष्ट्रीय राजधानीका विभिन्न स्थानमा अक्सीजन सुविधायुक्त बेडको संख्या बढाउन र चिकित्सा सम्बन्धि पूर्वाधार बढाउन लकडाउनको अवधि उपयोग गरिने बताउनु भयो । केजरीवालले दिल्लीमा अक्सीजनको स्थितिमा सुधार आएको र अस्पतालहरुमा पनि आत्तिएर फोन कलहरु न आइरहेको बताउनु भयो ।
मुख्यमन्त्रीले पछिल्लो केही दिनदेखि संक्रमणको दर 35 प्रतिशतले घटेर 23 प्रतिशतमा पुगेको बताउनु भयो । उहाँले राजधानीमा खोप अभियान पनि शुरु भएको तर अहिले पनि खोपको कमी रहेको र त्यसका लागि केन्द्रको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
अर्कोतिर उत्तर प्रदेश सरकारले पनि राज्यमा कोरोना कर्फ्यू एक सप्ताहका लागि बढाएको छ । यसअघि उत्तर प्रदेशमा लगाइएको कर्फ्यू भोली विहान समाप्त हुँदै थियो तर अब 17 मईसम्म कर्फ्यु जारी रहनेछ ।









































