महेन्द्रनगर, 19 जुन 2021
निरन्तर वर्षापति महाकाली नदीमा पानीको सतह बढ्न थालेको छ । पहाडी जिल्लामा भारी वर्षासँगै नदीको सतह बढेकाले नदी तटिय क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
महाकाली नदीको शारदा ब्यारेजमा शुक्रबार राति एक लाख क्यूसेकको हाराहारीमा पानी पुगेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षिक (डीएसपी) अमरबहादुर थापाले पहाडी जिल्लामा भइरहेको वर्षाका कारण महाकालीमा पानीको सतह बढ्दै गइरहेको बताए । उनले शुक्रबार राति एक लाख क्युसेक मापन गरेको पानीको सतह बढेर अहिले एक लाख ७५ हजार क्युसेक पुगेको बताए । शुक्रबार राति एक लाख मापन गरिएको पानीको सतह बिहान ८ बजेतिर एक लाख ६५ हजार क्युसके पुगेको र दिउँसो मापन गर्दा एक लाख ७५ हजार क्यूसेक पुगेको छ । नदीमा पानीको सतह वृद्धि हुँदै गएपछि निर्माणधीन महाकाली पुलमा लगाइएको माटोको ड्याम पनि काट्न थालेको छ भने नदी क्षेत्रका बासिन्दालाई सुरक्षित साथ बस्न आग्रह गरिएको छ ।









































