काठमाण्डौ, 22 जुन 2021
नेपाली काँग्रेसले कोभिड–१९ रोकथाम तथा उपचारमा सरकार अपारदर्शी भएको भन्दै यसको सम्बन्धमा स्वेतपत्र जारी गर्न सरकारसँग माग गरेको छ । मंगलबार निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिको तर्फबाट नेता प्रकाश शरण महत नेतृत्वको टोलीले भेट गरी सरकार कोभिड–१९ रोकथाम तथा उपचारको लागि पारदर्शी हुन नसकेको भन्दै यसमा सरकारले गरेको लगानीको सम्बन्धमा स्वेतपत्र जारी गर्न माग गरेको हो । भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ नेता महतले कोभिड – १९ नियन्त्रणको नाममा सरकारले दुरुपयोग गरेको र अब त्यस्तो नहोस् भन्ने कुरामा ध्यानाकर्षण पनि गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘अहिलेसम्म स्वास्थ्य क्षेत्रमा कोभिड–१९ को रोकथाम र उपचारमा सरकारले लगानी गरेको भनेको छ त्यो अपारदर्शी छ । त्यसको एउटा स्वेतपत्र जारी गर्नुपर्छ । र गतसमयमा धेरै दुरुपयोग भएको, भ्रष्टाचार भएको कुराहरु आएकाले सार्वजनिक चासो र चिन्ताको विषय भएको छ । अब त्यस्तो नहोस् ।’
नेता महतले कोभिड – १९ नियन्त्रण तथा रोकथामको लागि खोपको विकल्प नभएकाले खोप ल्याउने विषयमा सरकारको कार्ययोजना के छ जनताले जान्न पाउनुपर्ने माग राखिएको पनि बताउनुभयो । खोपको छिट्टै सुनिश्चित गराउनको लागि पनि सरकारको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको पद खाली रहेको र हालसम्म परिपुर्ति नगरिएको भन्दै छिट्टै परिपुर्ति गर्न पनि कांग्रेसले माग गरेको छ । त्यस्तै विदेशी तथा स्वदेशी विभिन्न संघसंस्थाले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्री सत्तारुढ पार्टीका नेता कार्यकर्ताले आफुले ल्याएको जसरी वितरण गरिरहेकाले स्वास्थ्य सामग्री सरकारी निकायमार्फत् नै वितरण गर्नपनि आग्रह गरेको नेता महतले बताउनुभयो ।









































