जनकपुरधाम, 24 जुलाई 2021
श्राद्धको भोज खान भारत गएका छोरा मृत अवस्थामा भेटिएपछि धनुषाको शहीदनगर नगरपालिका–९ को एक परिवार शोकमा डुबेको छ । २७ असारको रातिदेखि बेपत्ता भएका २३ वर्षीय दीपेश रजकको परिवार शोकमा डुबेको हो। साथीसँगै भोज खान भारत गएका उनी एक्कासी सम्पर्कविहीन भएपछि चौतर्फी खोजतलास गरिएको थियो। खोजी गर्ने क्रममा दीपेशको शव बिहारको छतौनी पञ्चायतस्थित बछराजा नदीमा प्रहरीले मृत अवस्थामा फेला पारेको थियो। उनका बुवा सतिशनारायण भारत पुगेर नेपाल शव लिएर आएका थिए। धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक लागेको देखिएको बताए । दीपेश वैदेशिक रोजगारीबाट ६ महिना अघि मात्र नेपाल फर्किएका थिए। उनी पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। दीपेशका पिता सतिशनारायणले आफ्ना छोराको हत्या गर्नेलाई कानून अनुसार कारबाही हुनुपर्ने बताएका छन् ।









































