काठमाण्डौं, 29 जुलाई 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउन तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभएको हो । उहाँले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले बाघ र मानिसका विचमा समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले आफु प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफुलाई आनन्द र गौरवबोध हुनेगरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई काविल र रचनात्मक सहयोगीहरु राख्न पनि सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदोरहेनछ । सहयोगी, सहयोद्धाहरु पनि त्यस्तै काविल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ ।’
उहाँले बाघको रक्षामा सबैले ध्यान पुरयाउनुपर्ने बताउनुभयो । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उहाँले बताउनुभयो ।









































