काठमाण्डौं, 3 अगस्त, 2021
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । मंगलबार अपरान्ह लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेश प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सचिवालयका सचिव दूर्लभकुमार पुनले जानकारी दिनु भयो । उहाँले ३४ जना सांसदहरुले हस्ताक्षर गरेको अविश्वास प्रस्तावमा माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाइएको पनि जानकारी दिनु भयो ।विपक्ष गठबन्धनले मंगलबार नै प्रदेश प्रमुख अमिक शेरचनसँग प्रदेश सभाको विशेष अधिवेशन माग गरेको थियो । लुम्बिनी प्रदेशमा हाल ८० जना सदस्य रहेका छन । सत्ता पक्ष एमालेको ३९ जना सदस्य छन भने माओवादी केन्द्रको १७, काँग्रेसको १९, जनता समाजवादी पार्टीको ३ र राष्ट्रिय जनमोर्चाको १ गरी ४० सदस्य छन । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्दछ ।









































