काठमाडौं, 12 अगस्त 2021
नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गर्नुभएको श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको विशेष समयमा उहाँले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रुपमा आएकोले यसमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको हो । उहाँले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि भएको बताउनुभयो । उहाँले २०७६÷०७७ को समय विश्व अर्थतन्त्र साढे तीन प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशतले मात्रै ऋणात्मक हुनु सुखद पक्ष रहेको बताउनुभयो । नेता पौडेलले कोभिड अवधिको तथ्यांकको सहारा लिएर २०७५÷०७६ को आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यलाई छोप्न खोजेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि थियो भन्ने दृष्टिकोणले खण्डन गर्न सक्दैन भन्ने मलाइ लाग्छ, तर तथ्य एकातिर छ, निस्कर्ष अर्कोतिर प्रश्तुत गरिएको पनि सँगसँगै हामीले देख्न सक्छौँ, कोभिड महामारीले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रलाई पनि गम्भीर र नकारात्मक रुपमा असर पारेको याथार्थलाई बेवास्ता गर्दै २०७६÷०७७ मा २ प्रतिशतले आर्थिक वृद्धिदर ऋणत्मक भएको उल्लेख गरिएको छ, जबकी यो अवधिमा विश्व अर्थतन्त्र नै करिव ३.५ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको थियो, कोभिड अवधिको तथ्यांकको सहरा लिएर २०७५÷०७६ मा करिव ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको यथार्थलाई भने छोप्न खोजिएको छ । ”









































