काठमाडौं, 16 अगस्त 2021
प्रतिनिधिसभाका सांसदहरुले विभिन्न समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले ३ महिनामा ३५ दिन काठमाडौंको फोहोर सडकमै रहेको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गर्नु भयो । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता सुवालले ३ महिनामा ३५ दिन काठमाडौंको फोहोर सडकमै रहेको र अझै १५ दिन घरमै फोहोर राख्नुपर्ने भए फोहोरबाट मोहोर बनाउने भनेर छुट्याइएको बजेटको अर्थ नरहेको बताउनुभएको हो । उहाँले वञ्चरे डाँडामा फोहोर राख्नेगरी शहरी विकास मन्त्रालयले तयार नगरेको र अझै ३० प्रतिशत काम बाँकी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “३ महिनामा ३५ दिन काठमाडौंको फोहोर सडकमै रहेको र अझै १५ दिन घरमै फोहोर राख्नुपर्ने भनिएको छ, वञ्चरे डाँडामा फोहोर राख्नेगरी शहरी विकास मन्त्रालयले तयार नगरेको र अझै ३० प्रतिशत काम बाँकी रहेको छ, सडक र घरघरमै फोहोर राख्नुपर्ने भए अर्बौं रुपैयाँ खर्च गरी वागमती सफा गरिएको के औचित्य ? फोहोरबाट मोहोर बनाउने भनेर पनि अर्बौं रुपैयाँ बजेट खर्च गरिएको थियो, फोहोरबाट मोहोर बनाउने भन्ने मानिस कता गए, के सरकार ठगहरुको घेरामा परेको हो ?”
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कपिलवस्तु र लुम्बिनीमा बुद्ध सभ्यता भन्दा पहिला पनि अन्य सभ्यता भएकोले त्यसको खोजी गरिनुपर्ने बताउनुभयो । उहाँले ति सबै स्थानको अन्वेषण गरे कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई मिलाएर बुद्धिष्ट सभ्यताको विशाल शहर बनाउन सकिने बताउनुभयो ।उहाँले कपिलबस्तु, रुपन्देही र नवलपरासीका पूरातात्विक सभ्यताको खोजी गरे बुद्धिष्ट सभ्यताको विशाल शहर बन्ने तर्क समेत गर्नु भयो ।









































