काठमाण्डौ, 19 अगस्त 2021
भुतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि प्रदर्शन गरेको छ ।बेलायतमा रहेका भुतपूर्व ब्रिटिश गोर्खाले आफुहरुलाई समान काममा तलव, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखि आन्दोलन गरिरहेको छ । १४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको हो । भुतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एस.बि. घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताउनुभयो । आफुहरु समान तलव, भत्ताको लागि विगत ३२ वर्षदेखि आन्दोलनरत भएपनि नेपाल सरकार यस विषयमा नबोलेको उहाँले बताउनुभयो । आमरण अनशनरत व्यक्तिहरुको जीवन खतरामा रहेकोले उहाँले जीवन रक्षाको माग पनि गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘आज हामीलाई बेलायतले शोषण गरिरहेको छ । हामीलाई तलव, भत्ता, सुविधा, पेन्सन इतयादीमा शोषण गरिरहेको छ । यसको खिलापमा हामीले ३२ वर्ष लामो आन्दोलन गर्यौँ । तर नेपाल सरकारले हाम्रो कुरा कहिलेपनि सुनेन । आमरण अनशन गरेको आज १४ दिन भयो । आजसम्म पनि यो सरकार बोलेन । हाम्रो साथीहरुको ज्यान जोखिममा छ । यो निकम्मा सरकारको धेरै चालबाजि भएको छ, त्यसैले सडकमा उत्रिन बाध्य छौँ ।’
मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरुलाई विभेद हुनु अन्यायपूर्ण भएकाले यो असमानतालाई सदाको लागि समाप्त गर्नुपर्ने आफुहरुको माग गरेको विमला तिम्खेवाले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘समान कामको समान अवसर, समान ज्याला र समानताको नारा मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरु माथि भएको विभेद डरलाग्दो छ । अन्यायपूर्ण छ । त्यसको विरुद्धमा समानताको लडाइँ, न्यायोचित तरिकाले यो असमानतालाई समाप्त गर्नुपर्यो ।’
उहाँले नेपाल सरकार र बेलायत सरकारले माग सम्बोधन गर्न तत्परता नदेखाएसम्म आन्दोलन नरोकिनेपनि स्पष्ट पार्नुभयो ।









































