काठमाण्डौ, 21 अगस्त 2021
तालिबानले आफूहरुविरुद्धमा बढिरहेको आक्रोशकाबीच अन्तरराष्ट्रिय समूदायलाई अफगानिस्तानमा तालिबानी शासनलाई स्वीकार गर्न अपिल गरेको छ। एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तरराष्ट्रिय समूदायले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने बताएका हुन्। शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्तालाई निराधार बताउँदै तालिबानी सरकार महिलालाई काम गर्ने र पढ्ने अधिकारको रक्षा गर्न प्रतिबद्ध रहेको बताए। यसका साथ उनले अन्तरराष्ट्रिय मौद्रिक संस्थामा नयाँ सरकारका लागि ‘फण्ड रिलिज’ गर्न आग्रह गरे। छिमेकी र क्षेत्रीय दलका विरुद्धमा आफ्नो जमिनको प्रयोग गर्न नदिने उनले बताए। उनले अफगानिस्तानको पुनर्निर्माणमा सबै देशको सहयोग जरुरी रहेको बताए। उनले मानिसहरु भ्रमित भएका कारण अफगानिस्तान छोडेर भागिरहेको बताए। कुनै मानिसमा बिमान चढेमा अमेरिका वा बेलायतमा बस्न दिइने छ, भन्ने भ्रम फैलाइएका कारण समस्या भएको उनको आरोप छ।









































