काठमाण्डौ, 23 अगस्त 2021
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सत्तारुढदल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र चौथाइवालेबिच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक नेपाल भ्रमणमा हुनु हुन्छ। चौथाइवाले नयाँ सरकारसँगको सम्बन्ध विस्तारसंगै सत्ता गठबन्धन र प्रमुख विपक्षीका नेतासँग भेटघाट गर्ने उद्देश्यले आइतवार काठमाडौ पुग्नु भएको हो। परराष्ट्र मामिलाका जानकारहरूका अनुसार नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा विश्वासको सङ्कट रहेको बताईएको छ। नेपालसँग निकट सम्बन्ध भएको छिमेकी राष्ट्र देशको नाताले दुई देशबीच सम्बन्ध सुधार र औपचारिक वार्ताका संयन्त्रहरूको क्रियाशीलताका लागि भारतले पहल गर्नुपर्ने परराष्ट्रविद्हरू बताउँछन्। यसका साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चौथाइवालेबीच आजै भेटवार्ता भएको छ। ओली र चौथाइवाले बिच ओली निवास बालकोटमा भेटवार्ता गरेको हो। चौथाइवालेले भेटघाटका क्रममा द्विपक्षीय हितबारे छलफल भएको चौथाइवालेले सामाजिक सञ्जाल मार्फत भेटघाट भएको तस्बिर सार्वजनिक गर्नु भएको छ। चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ। उहाँले सोमबार अध्यक्ष प्रचण्डको निवास खुमल्टारमा भेटघाट गर्नुभएको हो। प्रचण्डसँग नेपाल र भारतसँगको सम्बन्ध विस्तारका साथै अन्य विषयमा पनि खुलेर छलफल भएको चौथाइवालेले सामाजिक संजालमार्फत जानकारी दिनुभएको छ। नेपाल भ्रमणकै क्रममा चौथाइवालेले प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुसँग छलफल गर्नुभएको छ। भेटमा ठाकुर नेतृत्वको नयाँ दल निर्माणको परिस्थित र नेपालको विकसित राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।









































