संखुवासभा, 11 सितम्बर 2021
संखुवासभाको मादी नगरपालिका १ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संमलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मृतककै आफन्त लोकबहादुर कार्कीलाई सामूहिक हत्याकाण्डको आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार लोक बहादुरले आफ्नो अपराध स्वीकार गरेको बताइएको छ। प्रहरीले आफन्तबाटै घटना भएको हुनसक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको थियो । हत्यामा संमलग्न भएको आरोपमा मादी- १ उम्लिङखोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । घटनाको बारेमा थप जानकारी आइतबार पत्रकार सम्मेलन गराउने प्रहरीले जनाएको छ। गत सोमबार मादी –१ उम्लिङको खोला गाउँमा तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी, रञ्जना कार्की, नाति दीपेन कार्की र नातिनी, गोमा कार्कीको हत्या भएको थियो। घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो।









































