रामेछाप, 16 सितम्बर 2021
काठमाडौँबाट ओखलढुंगा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना भएको हो, दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३ च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारी धनी वाङसेन शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारीले जनाए । प्रहरी अनुसार दुर्घटनामा एक बालक गम्भीर घाइते भएको र १२ वर्षीय पेम्बा शेर्पा गम्भीर घाइते भएका छन् । बोलेरो खुर्कोट–मन्थली सडकखण्डको हात्तीटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको थियो ।









































