भोपाल, 16 सितम्बर 2021
भारतमा अब इन्जिनियरिङका विद्यार्थीहरुलाई महाभारत र रामायण पढ्नुपर्ने भएको छ। भारतको मध्य प्रदेशका कलेजमा भर्ना हुने इन्जिनियरिङका विद्यार्थीहरुलाई अब महाभारत र रामायण पढ्नु पर्ने परेको छ। इन्जिनियरिङ विषयको पाठ्यक्रममा रामायण, महाभारत र रामचरितमानस मध्य प्रदेशको उच्च शिक्षा विभागका अनुसार समावेश गरिएको छ। अध्ययन बोर्डका शिक्षकहरुको उपस्थितिमा एनईपी २०२० अन्तर्गत रामायण, महाभारतसहितको पाठ्यक्रम तयार गरिएको हो। शिक्षामन्त्रीका अनुसार समकालिन कार्यलाई प्रभावकारी बनाउन विद्यार्थीले थुप्रै सिकाई हासिल गर्न सक्ने भएकोले इन्जिनियरिङको पाठ्यक्रममा रामायण, महाभारत र रामचरितमानस समावेश गरिएको जनाएका छन्। ‘जसले भगवान रामको चरित्र र महाभारतको दर्शनलाई समकालिन कार्यसँग जोड्न चाहनेले इन्जिनियरिङ पाठ्यक्रमअनुसार सिक्न सक्छन्। हामी आफ्नो गौरवशाली इतिहासलाई अघि बढाउन सक्छौँ भने नयाँ पाठ्यक्रममा कुनै आपत्ति छैन’ उनले भनेका छन्। यहि शैक्षिक वर्षदेखि लागु हुने गरी जारी गरिएको नयाँ पाठ्यक्रमअनुसार रामायण, महाभारत र रामचरितमानसलाई वैकल्पिक विषयमा राखिएको छ। महाभारत भने अनिवार्य र वैकल्पिक दुवैमा समावेश गरिएको अधिकारीहरुले जनाएका छन्। अंग्रेजी र हिन्दी भाषाको सट्टा योग र ध्यानसमेत पाठ्यक्रममा समावेश गरिएको छ। मध्य प्रदेशका सबै इन्जिनियरिङ र गैर इन्जिनियरिङ कलेजहरु सेप्टेम्बर १५ देखि भौतिक रुपमा सञ्चालन हुनेछन्। कक्षाकोठामा ५० प्रतिशत विद्यार्थीको उपस्थितिमा पठनपाठन सञ्चालन गरिनेछ। इन्जिनियरिङ विषयलाई भारतमा केहि महिनाअघि विभिन्न आठ मातृभाषामा पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरिएको थियो।









































