काठमाडौं, 19 सितम्बर 2021
कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्ने बताउनुभएको छ । आइतवार संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै संविधानलाई समयानुकुल परिमार्जन गर्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिको निम्ति अग्रसर हुनुपर्ने बताउनुभएको हो । उहाँले आगामी पुस्तालाई समृद्धिको यात्रामा अघि बढाउनको निम्ति सबैको इमान्दार प्रयत्न हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘संविधान गतिशिल, जिवन्त दस्तावेज हो । यसमा समयानुकुल परिवर्तनहरु हुँदै जान्छन्। र नेपाली जनताका भावना, आकांक्षाहरुलाई संविधानमा परिलक्षित गर्दै यो संविधानलाई समयानुकुल परिवर्तन गरेर अब स्थिरता र आर्थिक समृद्धिका निमित्त हामी अग्रसर हुनु आजको हाम्रो दायित्व र कर्तव्य पनि हो ।’
मन्त्री कार्कीले संसदमा गतिरोध उत्पन्न भएका कारण सरकारले महत्वपूर्ण अध्यादेशहरु जारी गर्न नसकेको बताउनुभयो । उहाँले आगामी दिनमा संसदको गतिरोध अन्त्य गरेर नयाँ कानूनहरु निर्माण गर्ने दिशामा संसद अग्रसर हुने विश्वास पनि व्यक्त गर्नुभयो ।









































