काठमाडौ, 27 सितम्बर 2021
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध गरेका छन् । सोमबार बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । बिरोधपछि सभामुख अग्नि सापकोटाले पटक पटक बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यस्तै सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । एमालेका सांसदहरुको बिरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो भने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित भएका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सम्बन्धी सुचना पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठकमा असोज १४ गते बोलाइएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर बिरोध गरिरहेको छ ।









































