काठमाडौं, 28 सितम्बर 2021
गण्डकी प्रदेशले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको रोमान्चक खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो । भारतीय खेलाडीसहित कोर्ट उत्रिएको गण्डकीले सुरुवाती दुई सेट २६–२४ र ३६–३४ ले जितेको थियो । तर, उत्कृष्ट पुनरागमन गरेको मणिमुकुन्दले त्यसपछिको दुई सेट २५–१८ र २७–२५ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो । पाँचौ सेटमा गण्डकीले मणिमुकुन्दलाई १५–१३ को सेटमा पराजित गर्यो । यस जितसँगै समूह ’बी’ को गण्डकीले २ खेलमा ५ अंक जोडेको छ । गण्डकी क्वाटरफाइनलमा समेत पुगेको छ । त्यस्तै दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश नं. २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो । अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अंक जोडेको हेल्प नेपालले मंगलबारको खेलमा प्रदेश नं. २ लाई २५–२१, २५–१७, २५–१६ ले पराजित गरेको हो । त्यस्तै मंगलबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको छ । राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले नयाँ बजारमाथि २५–२२,२५–१७ र २५–१४ को सेटमा जित निकाल्यो । यस जितसँगै समूह सी को आर्मीले शीर्ष स्थानमा रहदै क्वाटरफाइनलको यात्रा तय गरेको छ । त्यस्तै मंगलबार सम्पन्न महिला तर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागिय टोली एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को जित निकाल्यो । एपिएफले पहिलो सेट २५–११, दोश्रो सेट २५–७ र तेश्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो । यस्तै होङ्गवाङ्गजी न्यू डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो ।









































