काठमाडौं, 29 सितम्बर 2021
विभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बन्दै छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो । पुलिसले गण्डकीमाथि २५–१४,२५–१४ र २५–१८ को सेटमा पराजित गर्यो । यस जितसँगै समूह बी को विजेता पुलिसले ३ खेलमा ९ अंक जोड्यो । त्यस्तै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नै बुधबार हेल्प नेपालले गल्कोट स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । हेल्प नेपालले गल्कोटमाथि २५–१८, २२–२५,२५–२२ र २५–१९ को सेटमा पराजित गरेको हो । यसै समूहको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाली मिलन क्लबलाई २५–१६,२१–२५,२५–१५ र २५–२३ ले पराजित गर्यो । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।









































