काठमाडौं, 29 सितम्बर 2021
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । बुधबार बर्दिबासस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले कार्यालयमा छापा मार्दै कागजात नियन्त्रणमा लिएर फर्किएको हो । छात्रालाई बाँड्न किनेको साइकलमा अनियमितता भए पाइएपछि अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो । प्रदेश २ को मुख्यमन्त्री बेटि पढाउ बेटि वचाउ अभियान अन्तरगतको साइकल वितरणमा भएको खर्च विवरण सम्वन्धि फाइल अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग बर्दिवासका उपसचिव मेघनाथ रिमालले जानकारी दिनुभयो । साइकल खरिदमा अनियमीतता भएको उजुरी आएको र सोहि अनुसार छानवीनमा लागेको उहाले बताउनुभयो । उहाले नियन्त्रणमा लिएका कागजातहरु अध्ययन गरेर थप बिषय सार्वजनिक गर्ने बताउनुभयो । प्रदेश सरकारको महत्वाकांक्षी योजना मध्ये एक वेटी पढाउ वेटी वचाउ अन्तरगत साइकल खरिदमा व्यापक अनियमीतता भएको आरोप मुख्यमन्त्री कार्यालयलाई छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई चरणमा गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो ।









































