काठमाडौं, 29 सितम्बर 2021
गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय क्षेत्रलाई सहज र व्यवस्थित रुपमा सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने बताउनुभएको छ । बुधबार सिंहदरबारमा पर्यटकीय क्षेत्र ठमेलका पर्यटन व्यवसायी, होटल तथा रेष्टुरा व्यवसायीसँग भएको छलफलका क्रममा पर्यटकिय क्षेत्रलाई सहज रुपमा सञ्चालनका लागि देखिएका समस्या समाधानका लागि अध्ययन गर्न कार्यदल बनाउने बताउनुभएको हो । उहाँले आफु पर्यटकिय क्षेत्रलाई २४ सै घण्टा संचालन गर्नदिने पक्षमा रहेको तर्क गर्नुभयो । रात्रीकालिन व्यवसायलाई सम्मानित व्यवसायमा रुपान्तरण गर्दै सहज रुपमा सञ्चालन हुनुपर्ने उहाँको भनाई छ । वर्तमान सरकार पर्यटन व्यवसायी मैत्री रहेको र यस क्षेत्रलाई जोगाउनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा व्यवसायीहरुले कोरोना महामारीपछि पर्यटकीय क्षेत्र ठमेलमा निकै समस्या देखिएको र यसलाई समाधान गर्दै सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।









































