काठमाडौं, 30 सितम्बर 2021
नेपाल पुलिस क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । यस जितसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यस अघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। बिहीबार भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबमाथि २५–२०,२५–१० र २५–१७ को सेटमा जित निकाल्यो । त्यस्तै बिहीबार नै भएको महिला तर्फको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्यो । न्यु डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित गर्यो । त्यस्तै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अर्को विभागीय टिम नेपाल पुलिस क्लब लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ महिला टिम समूह विजेता बनेको छ । प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसमाथि २५–१४,२१–२५,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।









































