काठमाडौं, 30 सितम्बर 2021
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन गर्ने बेला आएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्ने बेला आएको बताउनुभएको हो । उहाँले आफुहरुको यो आन्दोलन हतियार नउठाइ जितिने तर्क गर्नुभयो । अहिलको चूनाव निकै खर्चिलो भएको र खर्च गर्नेले मात्र चूनाव जित्न सक्ने अवस्था आएको उहाको भनाई छ । त्यस्तै प्रचण्डले आफूलाई एमाले विभाजन गराएको भनेर लगाएको आरोप सही नभएको धारणा राख्नुभयो । यसअघि ओलीलाई पार्टीबाट निस्कासन गर्न हस्ताक्षर गर्ने नेताहरूले आफूलाई गलत आरोप लगाएको उहाले बताउनुभयो । प्रचण्डले आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमन गरेको र संविधानका उपलब्धि उल्ट्याउने काम भएकाले मिलेर लड्ने निर्णय लिएको जिकिर गर्नुभयो । त्यस्तै प्रचण्डले प्रतिगमन बिरुद्ध आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प देखे पनि जोखिम उठाएर लडेको बताउनुभयो । उहाँले अहिले पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको भन्दै सवैले गम्भीर भएर सोच्नुपर्ने पनि बताउनुभयो । अखिल (क्रान्तिकारी)को सम्मेलन तीन दिनसम्म चल्ने छ ।









































