काठमाडौं, अक्टूबर 2021
न्यु डायमन्ड स्पोर्ट्स क्लब र साविक विजेता एपीएफ क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै न्यु डायमन्ड उपाधि नजिक पुगेको हो । न्यु डायमन्डले पुलिसमाथि १८–२५,२५–१७,२१–२५,२५–१७ र १५–१० को सेटमा जित निकाल्यो । त्यस्तै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । रोमान्चक बनेको खेलको पहिलो सेट एपीएफले २७–२५ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा आर्मीले २५–२१ र २७–२५ को जित निकाल्यो । चौंथो सेट एपीएफले २६–२४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । त्यसपछि पाँचौ सेटमा १५–१३ को जित निकाल्दै एपीएफ फाइनल पुगेको हो ।









































