काठमाडौं, 1 अक्टूबर 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफु नयाँ ढंगको जनयुद्ध गर्न तयार रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सपनाको पाण्डूलिपी गिती संग्रह’ विमोचन कार्यक्रम गर्दै प्रचण्डले पार्टीभित्र र बाहिरबाट आफुलाई घेरबन्दीमा पार्न खोजिएको भन्दै आवश्यक परे नयाँ ढंगको जनयुद्ध गर्न तयार रहेको बताउनुभएको हो । उहाले अहिले नै हतियार उठाउने वा भूमिगत हुने नसोचेपनि नया ढंगको जनयुद्धको खोजी भइरहेको धारणा राख्नुभयो । प्रचण्डले लाखौ जनता माओवादीसंग उत्रिए अहिलेको शासकिय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने बताउनुभयो । उहाले माओवादी नेतालाई एउटै मञ्चमा तत्काल नबोलाउन आग्रह पनि गर्नुभयो । यसरी एउटै मञ्चमा बोलाउँदा पुनः पार्टी एकता हुन लागेकाले धक्का पुग्न सक्ने उहाले बताउनुभयो । प्रचण्डले जनयुद्ध लडेका सवै नेताहरुले रियलाइज गरेपछि अन्तिममा सवै एकै ठाँउमा भेट हुन सक्ने जिकिर गर्नुभयो । कार्यक्रममा जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वमाओवादीबीच कार्यगत एकता हुनसक्ने भएपनि एउटै ठाँउमा बस्ने भने सम्भव नभएको धारणा राख्नुभयो । उहाले पार्टी एकताका लागि बिचार, सिद्धान्त, संगठनात्मक तथा तत्कालिन र दिर्घकालिन कुरा मिल्नुपर्ने बताउनुभयो । अग्रगामी शक्तिहरु प्रतिगमकाबिरुद्ध एक भएर सहकार्य गर्ने र चूनावी तालमेल गर्नुपर्ने उहाको भनाई छ । जनयुद्ध अध्ययन प्रतिष्ठानको आयोजनामा प्रगतिवादी कवि गीतकार तथा संगीताका दिलीपकुरमा श्रेष्ठद्वारा रचित सपनाको पाण्डुलिपी गीतिसंग्रह बिमोचन गरिएको हो ।









































